(१) ऐनको दफा ५ को उपदफा (२) बमोजिम कुनै रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गर्न चाहने रचयिता, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारणका धनीले आफ्नो सबुद प्रमाण सहित अनुसूची–१ बमेजिमको ढाँचामा रजिष्ट्रार समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा रजिष्ट्रारले सो निवेदन सम्बन्धमा जाँचबुझ गरी आवश्यक भए थप कागजात पेश गर्न निवेदकलाई आदेश दिनेछ ।
(३) उपनियम (२) बमोजिम माग गरिएको कागजात समेतबाट निवेदकको नाममा त्यस्तो रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गर्न मनासिब देखिएमा रजिष्ट्रारले कागजात पेश भएको मितिले र कागजात माग नगरिएको भए निवेदन परेको मितिले पैंतीस दिनभित्र एकसय रुपैंया दस्तुर लिई निवेदकको नाममा सो रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गरी निवेदकलाई अनुसूची–२ बमोजिमको ढाँचामा रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम माग गरिएको कागजात समेत जाँचबुझ गर्दा निवेदकको नाममा त्यस्तो रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गर्न मिल्ने नदेखिएमा रजिष्ट्रारले त्यसको कारण खुलाई सात दिनभित्र निवेदकलाई जानकारी दिनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गर्ने प्रयोजनको लागि रजिष्ट्रारले दर्ता किताबको व्यवस्था गर्नु पर्नेछ ।